धनुषा ।
प्रहरीले धनुषा बमकाण्डको आरोपमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका एकजना कार्यकर्तालाई पक्रेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्र नगरमा प्रहरी निरीक्षकसहित तीनजनाको ज्यान लिने गरी भएको बम विस्फोटमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रदेश २ सदस्य इन्दल साह (धानुक)लाई पक्राउ गरेको हो।
धनुषाको धनुषाधाम नगरपालिका–६ का ३४ वर्षीय साह सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ। एक व्यक्तिसँग चन्दा लिन श्रीपुर पुगेका बेला विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
पक्राउ परेका साहमाथि पहिलादेखि नै कर्तव्य ज्यान, विस्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
बम विस्फोट गराएको आरोपमा प्रहरीले यसअघि पाँचजनालाई पक्राउ गरिसकेको छ। उक्त घटनामा १२ जनाको संलग्नता रहेको प्रहरीले बताएको छ। बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय ४८ वर्षीय राजेश साह र उनकै १६ वर्षीय छोरा आनन्दको मृत्यु भएको थियो।