काठमाडौं: असोज , अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले विधि र पद्धतीभित्र रहेर काम गर्ने बताएका छन् । आयोगको प्रमुख आयुक्तमा नियुक्त हुनुअघि भएको संसदीय सुनुवाईका क्रममा घिमिरेले विगतका कमीकमजोरीबाट पाठ सिक्दै अघि बढ्ने बताए ।
उनले भने– ‘मेरो इमान्दारी र निष्ठाका साथ जनताले सम्झनेगरी काम गर्ने प्रतिबद्धता जनाउँछु । मान्छेको सम्पतिको बारेमा अनुसन्धान गर्दा आतंकित नगर्ने, जोसुकैलाई फारम भराएर हिँड्दैनौ, हामीले एउटा विधि र पद्धति बनाएका छौँ । आन्तरिक कार्यविधिअनुसार काम गछौँ ।’
समितिको बैठकमा सांसदहरुले ठूला माछालाई उन्मुक्ति दिने र साना माछा समात्ने काम अख्तियारले गरिरहेको भन्ने प्रश्नमा घिमिरेले भने–‘आयोगको दृष्टिकोणमा, आयोगको दृष्टिकोणमा भष्ट्राचारीलाई साना माछा ठूला माछा भनेर निर्धारण गरिरहन आवश्यक छैन, २ रुपैयाँ खाने पनि भष्ट्राचारी हो, अरबमा करोड खाने पनि भष्ट्रचारी हो । त्यसले समाजबाट उन्मुक्ति पाउँनु हुँदैन भन्ने हो । उनले साना ठूला माछा भनेर विगतको दिनमा पनि छुट्याएर नराखेको र आगामी दिनमा पनि नराख्ने प्रतिबद्धता जनाए ।