काठमाडौं: केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका नेता तथा कार्यकताहरुलाई सरकारको बिरुद्ध बोल्नेहरुलाई अरिंगाल झै हमला गर्न निर्देशन दिए । उनले दिएको त्यो अभिब्यक्तिको चर्को आलोचना भयो । तर फेरी आज प्रधानमन्त्री ओलीले त्यसको ठीक बिपरित आफ्ना पार्टीका कार्यकर्तालाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् ।
ओलीले दिएको फरक फरक निर्देशनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता भने मौरी बन्ने कि अरिङ्गाल झै आक्रमक बन्ने भनेर अलमलमा परेका छन् । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोरी बन्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने बताउँदै प्रधानमन्त्री ओलीले भने, “कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस् ।
सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन ।” प्रधानमन्त्री ओलीले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको बताए । नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । साहानालाई महिला आन्दोलनकी नेतृको रुपमा मात्र हेर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ ।








































