महेन्द्रनगर (धनुषा), २४ माघ
धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आइतवार भव्यताका साथ सम्पन्न भएको छ । मेला भर्न स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनको उल्लेख्य सङ्ख्या रहेको थियो ।
माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न आएका श्रद्धालु भक्तजन धनुषा मन्दिरमा दर्शनपूजा गर्ने गर्दछन् । ऐतिहासिक, धार्मिक एवम् पौराणिक महत्व बोकेको धनुषाधाम मकर मेला भर्न आउने श्रद्धालु भक्तजनको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको अनुमान गरिन्छ ।
त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको सीता स्वयम्बरमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती रहेको छ । विष्णु पुराणका अनुसार दधिचि मुनिको हाडबाट बनेको धनुष त्रिपुरासुर सङ्ग्राम भएपछि त्यही पिनाक धनुष शङ्कर भगवान्ले परशुरामलाई दिएका थिए । परशुरामले उक्त धनुष जनक महाराजलाई दिएका थिए । भगवान् रामले उक्त धनुषमा वान चलाउँदा धनुषको तीन टुक्रा भएको थियो ।
धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपश्चात् माघ महिनामा मकर मेला लाग्ने गर्छ । श्रद्धालु भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्ने गर्दछन् । जनकपुरदेखि करिब १९ किलोमिटर उत्तर–पूर्वमा रहेको धनुषाधाममा सो धनुषको पूजाअर्चना गर्न बर्षेनि लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । भक्तजनद्वारा पूजाअर्चनाका क्रममा धनुषको सो टुक्रामा पुष्पजल अर्पण गर्नाले बर्षेनि धनुषको आकार बढ्दै गएको धनुषा मन्दिरका महन्थ भरत दासले बताउनुभयो ।
धनुषाधाममा लाग्ने मेला भर्न भारत तथा नेपालका असङ्ख्य धर्मावलम्बी आउने गर्दछन् ।
धनुषाधामलाई पर्यटक स्थलका रुपमा विकास गर्नका लागि राज्यले विशेष पहल गर्नुपर्ने आवश्यक्ता रहेको धनुषावासीको माग रहेको छ । रासस