इतिहासमा आज
जनावरी ११ अर्थात् तत्कालीन सोभियत संघको पतनको पहिलो घटना । सन् १९९० को जनावरी ११ मा तत्कालीन सोभयत संघका नेता तथा राष्ट्रपति मिखायल गोर्भाचोभ लिथुनिया पुगे । जहाँ लिथुनियाको राजधानी भिल्नियसको क्याथेड्रल वर्गमा स्वतन्त्र लिथुनियाको माग गर्दै विशाल प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले स्वतन्त्र लिथुआनियाको नारा लगाए । जुन प्रदर्शनमा २ लाख बढीको सहभागिता रहेको थियो । लिथुआनियामा सोभियत संघका नेता मिखाइल गोर्बाचेभले सार्वजनिक रूपमा पृथकतावादले त्रासदी निम्त्याउन सक्छ भन्ने चेतावनी समत दिए तर प्रदर्शनकारी मान्न तयार भएनन् ।
सन् १९४० मा बाल्टिक देश लिथुनिया तत्कालीन सोभियत संघमा आबद्ध भएको थियो । सोभियत संघमा आबद्ध भएको लिथुनियामा उसै सोभियत संघबाट स्वतन्त्र हुनलाई ५० बर्षपछि आम निर्वाचन भयो । यो अघि सन् १९८९ मे १८ तारिखमा लिथुनियाले आफुलाई स्वतन्त्र राष्ट्र घोषणा गरिसकेको थियो । जनावरीमा भएको प्रदर्शनको तीन महिनापछि लिथुनियामा चुनाव भयो । जसमा १२४ जना सांसदहरुले नै लिथुनिया स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा मत दिए । तर सोभियत संघले त्यसलाई स्वीकार गरेको थिएन । त्यसपछि सोभियत रुस विरुद्ध लिथुनियाली जनता एक जुट भए र एक बर्षपछि अर्थात् सन् १९९१ जनावरी ११ देखि १३ जनावरीसम्म राजनीतिक स्वतन्त्रताको माग गर्दै लिथुनियाको राजधानी भिल्नियसमा प्रदर्शन भयो ।
जसमा सोभियत सेनाले एक्सल लियो र १४ जना प्रदर्शकारीको मृत्यु भयो भने ७०२ जना घाईते भए । त्यसपछि तत्कालीन सोभियत संघले लिथुनियाबाट आफ्नो सेना फिर्ता लग्यो र लिथुनिया ५१ बर्षपछि स्वतन्त्र राष्ट्रका रुपमा विश्व मानचित्र स्थापित भयो । तर सोभियत संघले भने लिथुनियालाई सन् १९९१ सेप्टेम्बर ६ तारिखमा स्वतन्त्र राष्ट्रको दर्जा दियो । भने अर्कातर्फ सोभियत संघ एकपछि अर्को गरी पतनको दिशामा अघि बढीरहेको थियो ।
सन् १९५६ मा तत्कालीन रुसी कम्युनिस्ट पार्टीको कंग्रेसमा तीन वटा प्रस्ताव गरे । पहिलो शान्तिपूर्ण समावादमा संक्रमण, दास्रो शान्तिपुर्ण सहअस्तित्व र तेस्रो सबै जनताको पार्टी । अर्थात् पार्टीहरुमा कुनै बर्गको अस्तित्व हुँदैन । सबै समान छन् भन्ने धारणा राखे । जुन विश्वकै ठूलो मुलुक तत्कालीन सोभियत सघका लागि घातक साबित भयो । कालान्तरमा उनको विचारले सोभियत संघलाई ३५ बर्षपछि १५ टुक्रामा विभाजित गरायो । साथै उनको सो प्रस्तावले विश्वको कम्युनिस्ट आन्दोलनलाई दुई ध्रुवमा विभाजित गर्यो । ख्रुस्चेवको सो प्रस्तावले विश्व कम्युनिस्ट आन्दोलनलाई क्षत विक्षत पार्न ठूलो उत्प्रेरकको भूमिका खेल्यो । जुन प्रक्रिया आजसम्म पनि जारी नै रहेको छ ।
एकातर्फ पुँजीवाद र समाजवादी खेमामा विश्व विभाजित भएको थियो । भने अर्कातर्फ विश्व शक्ति अमेरिका र तत्कालीन सोभियत संघको शीत युद्ध उत्कर्षमा पुगिरहेको थियो । अन्तस् बाह्य कारणहरु भन्दा पनि आन्तरिक संकट टार्न नसक्दा सोभियत संघको पतन भयो । त्यसपछि अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले इतिहासको अन्त्य भएको दाबी गर्दै आफ्नो पुस्तक द इण्ड अफ द हिस्ट्रि एण्ड द लास्ट म्यान लेखेका थिए जसमा कम्युनिस्ट व्यवस्थाको अन्त्य भएको बताएका थिए ।