भक्तपुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)सँग प्रजातन्त्रीक जनगणतन्त्र कोरियाका महामहिम राजदूत चो याङ्ग म्यानले बिहीबार भेट गर्नु भएको छ ।
भेटघाटमा अध्यक्ष बिजुक्छेँले महामहिम राजदूतमार्फत कोरियाली मजदुर पार्टीका अध्यक्ष किम जङ उन र अन्य नेता एवम् कार्यकर्ताहरूलाई सन् २०२० को शुभकामना दिनुभयो । प्रजग कोरियाको साम्राज्यवादविरोधी सङ्घर्षबारे विश्वका न्यायप्रेमी जनता सुसूचित रहेको उल्लेख गर्दै उहाँले इरानविरूद्धको घटनाले विश्वमा अमेरिकी साम्राज्यवादविरोधी भावना बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संयुक्त राष्ट्र सङ्घको दबाबमा नेपाल सरकारले प्रजग कोरियाको लगानी फिर्ता पठाउने काम निन्दनीय छ । संरा सङ्घले अमेरिकी भनाइमा लागेर प्रजग कोरियाविरूद्ध नाकाबन्दी गर्नु बेठीक हो ।
हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको एमसीसी सम्झौतामा नेपाल सरकारले गरेको हस्ताक्षर नेपाललाई अमेरिकी सैन्य केन्द्र बनाउने र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नै भएकोले नेमकिपा सडक र संसद्मा सङ्घर्ष गर्दै छ । अमेरिकाले बेलायती उपनिवेश पुनःस्थापना गर्न खोज्दै छ । संयुक्त राष्ट्र सङ्घमा क्युवाविरूद्धको नाकाबन्दीसम्बन्धी मतदानमा अमेरिका पटक–पटक अल्पमतमा परिसकेको छ ।”
अध्यक्ष बिजुक्छेँले भूगोल र जनसङ्ख्यामा सानो देश प्रजग कोरियाको कूटनीतिक सङ्घर्षबाट सिकेर साम्राज्यवादलाई धपाउन सकिने उल्लेख गर्दै प्रजग कोरियाको विकास अमेरिकाको भन्दा उच्चस्तरको भएको बताउनुभयो । महामहिम राजदूत म्यानले गएको डिसेम्बर २८ देखि ३१ सम्म कोरियाली मजदुर पार्टीको सातौँ केन्द्रीय समितिको पाँचौँ विस्तारित बैठकमा कोरियाली मजदुर पार्टीका अध्यक्ष किम जङ उनले पेश गर्नुभएको प्रतिवेदनमा प्रजग कोरियाको राजनीति, अर्थतन्त्र, सांस्कृतिक, कूटनीतिक क्षेत्रलाई स्वाधीन बनाउने विषय स्पष्टसँग उल्लेख भएको बताउनुभयो ।
उहाँले स्पष्ट भन्नुभयो, “अमेरिकी साम्राज्यवादले प्रजग कोरियाको मुख्य हितलाई अपमान गरेसम्म दुई देशबीच मिलनबिन्दु हुने छैन । प्रजग कोरियाले आफ्नो शक्ति बलियो बनाएर साम्राज्यवादी नाकाबन्दीलाई ध्वस्त पारी अघि बढ्ने छ ।”महामहिम राजदूतले अध्यक्ष उनको प्रतिवेदनमा अमेरिकाले प्रजग कोरियाविरुद्ध र सारा संसारको अहितमा के गर्न खोजेको हो स्पष्ट गर्नुभएको बताउनुभयो । नेमकिपाका सचिव प्रेम सुवालको उपस्थिति रहेको भेटघाटमा नेमकिपा र कोमपाबीचको पार्टी प्रकाशनहरू आदान–प्रदान भएको थियो ।