काठमाण्डौ , नेपाल–चीन पत्रकार समाजले नेपालि पत्रकारहरुको लागी तीन महिने चिनियाँ भाषा प्रशिक्षण कार्याक्रममा आयोजना गरेको छ ।उदघाटन समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नेपाल–चीन सम्बन्धलाई युवापुस्ताले नयाँ आयामबाट थप उचाइमा पुर्याउनुपर्ने बताएका छन् । आफूले विद्यार्थी आन्दोलनदेखि नै चीनबारे बुझ्दै आएको बताउँदै अरनीको र भृकुटीको परिचयले मात्र नेपाल–चीन सम्बन्धलाई सीमित नराखेर आधुनिक समाजका लागि युवाहरूले नयाँ आयामबाट दुई देशको सम्बन्धलाई चिनाउनुपर्ने बताए ।काठमाडौं विश्वविद्यालयका रजिष्टार सुबोध शर्माले काठमाडौं विश्वविद्यालयमा चिनियाँ दार्शनिक कन्फ्युसियसको छुट्टै भवन निर्माणका लागि पहल भइरहेकाले यसमा नेपाल सरकारले आवश्यक पहल गरिदिन आग्रह गरे ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले केही समय अघि चीन रहस्यको देशका रूपमा बुझिए पनि भाषाको समृद्धिका कारण चीन विश्वमै शक्तिशाली देश भएको बताए ।‘चीनबाट नेपालमा धेरै भलाद्मी पर्यटकहरू आइरहेका छन् । साथै अपराधीहरू पनि आएका छन् । भाषाकै समस्याका कारण हामीले उनीहरूलाई चिन्न सकेका छैनौं । पत्रकारले चिनियाँ भाषा सिकेपछि सजिलै छुट्टाउन सकिन्छ ’ अध्यक्ष श्रेष्ठले भने । काठमाडौं विश्वविद्यालय कन्फ्युसियस इन्सिच्युटका निर्देशक वाङ सेङ्गीले प्रशिक्षण अवधिभर दक्ष प्रशिक्षक र स्तरीय पाठ्यपुस्तक उपलब्ध गराइने बताए । आउँदै गरेको चिनियाँ नयाँ वर्ष खुलेर मनाउन उनले आग्रह गरे ।