रसुवा, रसुवाको उत्तरगया गाउँपालिका(१ मा निर्माणाधीन माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका जनताको चासो र गुनासोलाई अवमूल्यन गरेको भन्दै स्थानीयले बिभिन्न मागसहित एकहप्ते अल्टिमेटम दिएका छन् ।
मैलुङ खोला जलविद्युत सरोकार समितिले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोजनालाई १३ बुँदे माग सम्बोधन गर्न एकहप्ते अल्टिमेटम दिएको जानकारी गराएको हो । स्थानीय जनताले पटक पटक उठाउँदै आएका जायज मागहरुप्रति आयोजनाका तर्फबाट कुनै सुनुवाई नभएको भन्दै एक साताभित्र माग सम्बोधन नगरे आयोजनाको काम अनिश्चित रूपमा बन्द गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।
‘मैलुङ खोलामा रहेको सम्पूर्ण प्राकृतिक स्रोत र साधन स्थानीय जनताको सम्पत्ति हुन् । जनताको सम्पत्तिमा जनतालाई कुनै लाभ नदिई आयोजनाले एकलौटी ढंगले उपभोग गर्ने तर जनताप्रतिको उत्तरदायित्व बहन गर्नुको साटो सिमित जनप्रतिनिधि र प्रहरी प्रशासनको धम्की दिंदै इमान्दार जनतामाथि शोषण गरिरहेकाले तपशिलका माग शुत्रवद्ध गरि पेश गर्दछौं ।’ सरोकार समितिका संयोजक पुर्ण घलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।


समितिले माग पुरा गर्न ७ दिनको समयसीमा दिंदै आफ्ना जायज माग पुरा नगरी प्रहरी प्रशासनको बलमा दबाउन खोजे आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी आयोजनाले नै लिनुपर्ने उनीहरुको भनाइ छ ।समितिले सार्वजनिक गरेको मागपत्रमा मुआब्जा पाउनुपर्ने, निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने, स्थानीयलाई रोजगारी सिर्जना गर्नुपर्ने, अति प्रभावित घरजग्गा अधिकरण गरेका जनतालाई प्रति व्यक्ति एक हजार कित्ता सेयर निःशुल्क उपलब्ध गराउनुपर्ने लगायतका छन् ।
त्यसैगरी क्षमता र दक्षताको आधारमा उत्तरगया गाउँपालिका–१ का जनतालाई रोजगारीमा पहिलो प्राथमिकतामा राख्नुपर्ने, दक्ष जनशक्ति हुँदाहुँदैै बाहिरबाट ल्याइएका कर्मचारीलाई तत्काल हटाउनुपर्ने, स्थानीय सडकको स्तरउन्नती गरिनुपर्ने, खानेपानीको व्यवस्था गरिनुपर्ने लगायतका माग राखिएको छ ।








































