कम्युनिष्टहरूको सवाल ‘संसारलाई बुझ्नु मात्र होईन संसारलाई बदल्नु’ हो । वर्गीय समाजलाई मानव समाजमा बदल्ने बाटो समाजवादी र साम्यवादी क्रान्तिकारी बाटो हो । शोभियत संघको विखण्डनपछि जसरी कम्युनिष्ट आन्दोलन रक्षात्मक भयो । यसको असर विश्व कम्युनिष्ट आन्दोलनमा पनि पर्यो । यद्यपी पूर्वी युरोपका मुलुकहरूमा जे अपेक्षा देखिइएको थियो । त्यो पुँजीवादीहरूले अझै पूरा गर्न सकेका छैनन् । यसबाट के बुझ्नुपर्छ भने कम्युनिष्ट आन्दोलनको औचित्य झन स्थापित भएको छ । र संसारलाई यो विचारले बदल्छ ।
नेपालको सन्दर्भमा ७० वर्षीय राजनैतिक आन्दोलनको इतिहास छ । यो अवधिमा विभिन्न समयमा भएको सशस्त्र, शान्तिपूर्ण, जनयुद्ध, र जनआन्दोलनको प्रक्रियाद्वारा सामन्तवादको अन्त्य गरी केन्द्रीकृत एकात्मक राज्यसत्ताको अन्त्य हुन पुग्यो भने सो स्थानमा सबै तहमा समानुपातिक, समावेशी प्रतिनिधित्वसहित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । नेपाली कम्युनिष्ट राजनैतिक आन्दोलनले विचार र दर्शनको हिसावले आध्यात्मवादको प्रतिनिधित्व गर्ने हिन्दू राज्यको अन्त्य गरी भौतिकवादको प्रतिनिधित्व गर्ने धर्मनिरपेक्ष राज्य कायम गरेको छ । सामाजिक न्यायसहितको समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने विषय संविधानमा नै उल्लेख गरिएको छ ।
संविधानमा ग्यारेण्टी भएका विषयहरू तत्कालै कार्यान्वयन गर्न र राज्यको न्यायपालिका, कर्मचारीतन्त्र, सेना–प्रहरी लगायतको व्यापक पूनर्संरचना तथा आत्मनिर्भर अर्थतन्त्रसहित व्यापक औद्योगीकरण र पूँजीवादीकरणको प्रक्रियाद्वारा सामाजिक–आर्थिक रुपान्तरणलाई साकार पार्ने प्रश्न कम्युनिष्ट र उसको सरकारको लागि ठूलो चुनौतीको प्रश्न हो । किनकी हामीकहाँ परिवर्तनलाई विश्वास नगर्ने यथास्थितीबादी केही शक्तिहरू निरन्तर चलबलाइरहेका छन् ।
अबको कम्युनिष्ट यात्रा वैज्ञानिक समाजवादी क्रान्ति हो । यो कठीन छ । तर यसलाई पुरा गर्नु सम्पूर्ण परिवर्तनमा विश्वास गर्नेहरूको दायित्व हुनुपर्छ । यसै सन्दर्भमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डद्वारा प्रस्तुत एकताको राजनैतिक प्रतिवेदनमा भनिएको छ, ‘तुलनात्मक रुपमा प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिका बीचमा नेपाली जनताले हामीलाई गरेको विश्वासप्रति हामी आभारी छौँ र गम्भीर पनि छौँ ।’ इतिहासले सुम्पेको यस विरल अवसरको सदुपयोग गर्न र जिम्मेवारी वहन गर्न सफल नहुने हो भने हामी असफल हुनेछौं । यसले समग्र कम्युष्टि आन्दोलन, लोकतान्त्रिक र देश भक्तिपूर्ण आन्दोलन र राष्ट्रलाई संकटमा पुर्याउनेछ । निश्चय नै युगौंदेखि एउटा मानसिकता, एउटा गति र संरचनामा अभ्यस्त राज्य संरचना एवम् पार्टी पंक्तिको रुपान्तरण सहज छैन, तर हामीले रुपान्तरण गर्नै पर्छ र हुनैपर्छ । यसको लागि सबैको साथ पार्टी र आन्दोलनप्रति प्रविबद्द हुनुपर्छ । यस सन्दर्भमा आजको कम्युनिष्ट आन्दोलन निम्न पक्षमा केन्द्रीत हुनुपर्ने देखिन्छ ।
राजनैतिक कार्यभार
संविधानको रक्षा र कार्यन्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व हो र यसले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्छ । प्रतिक्रान्तिका अवयवहरू सल्बलाई रहेको अवस्थामा कम्युनिष्ट पार्टीको एकतालाई थप सुदृढ गर्दै प्रगतिशील शक्तिहरुसँग कार्यगत एकता गरेर त्यस्ता प्रतिक्रान्तिकारी तत्वहरूलाई परास्थ गर्न राजनैतिक कार्यकर्ता सक्रिय हुनुपर्छ । नेपालको सामाजिक–राजनैतिक अवस्था, भू–राजनैतिक अवस्था, विज्ञान, प्रविधि, सूचना–सञ्चारको क्षेत्रमा भएको तीव्र विकास र त्यसको प्रभाव, अन्तर्राष्ट्रिय परिस्थिति, विभिन्न शक्तिकेन्द्रहरूको अवस्था (चीनको बेल्ट एण्ड रोड इनिसियटिभ अर्थात् समाजवादी बजार व्यवस्था र अमेरिकाको इण्डो–प्यासेफिक रणनीति अर्थात् पूँजीवादी बजार व्यवस्था), भारतको विस्तारवादी नीति र त्यसको हस्तक्षेप तथा प्रभावका कारण हाम्रो राजनीतिमा मात्र होइन सामाजिक, आर्थिक, सांस्कृतिक रुपान्तरणमा ठूलै प्रभाव परिरहेको छ । यी सबै परिस्थितिको ठोस विश्लेषण गरी पूँजीवादी राजनीति (जनताको जनवाद) को बाँकी कार्यभार पुरा गर्दै वैज्ञानिक समाजवादी आन्दोलनको आधार तयार गर्नु नै कम्युनिष्टहरूको राजनैतिक कार्यभार हुनुपर्छ ।
वैचारिक कार्यभार
मानवजातिले प्राप्त गरेको हालसम्मको क्रान्तिकारी चेतनाको आधारमा नेपाली समाजलाई मौलिक ढंगबाट एक हदसम्म जनताको जनवाद स्थापना गर्न सफल भएको छ । माक्र्सवादको आधारमा भएको नेपाली राजनैतिक आन्दोलन तथा वर्गसंघर्षका विभिन्न रुप र प्रक्रियाहरूले माक्र्सवादी चेतनाको थप विकास गर्दै लगेको छ । पूँजीवाद/साम्राज्यवादले आफ्नो वैचारिक आधार उत्तरआधुनिकवादलाई विज्ञान, प्रविधि, सुचना–संचारको दुरुपयोग गरी विश्वव्यापीकरण गरिरहेको छ । कतै प्रत्यक्ष/परोक्ष युद्धद्वारा, कतै विभिन्न संघ/संस्थाद्वारा र अन्य प्रत्यक्ष/परोक्ष विभिन्न प्रक्रियाद्वारा आफ्नो विचारलाई प्रयोग गरी मूलतः कम्युनिष्ट आन्दोलनलाई रोक्ने दुश्प्रयास गरिरहेको छ । त्यसको विरुद्धमा कम्युनिष्टहरूले सर्वहारावर्गको माक्र्सवादी विचारलाई अहिलेको युगअनुसार थप विकास गर्दै विकसित विज्ञान, प्रविधि र सूचना–सञ्चारको प्रयोगद्वारा विश्वका श्रमजीवी जनतासम्म पुर्याउने र त्यस वैज्ञानिक विचारलाई पुँजीवादी/साम्राज्यवादी विचारको विकल्पको रुपमा स्थापित गर्नु कम्युनिष्टहरूको वैचारिक कार्यभार हुनुपर्छ ।
आर्थिक कार्यभार
सामन्ती, नोकरशाही, दलाल पूँजीवादी शोषणका सबै अवशेषहरू तथा परनिर्भरताको अन्त्य गर्दै व्यापक औद्योगीकरण, पूँजीवादीकरण र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै सामाजिक न्याय र न्यायोचित वितरणको आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको कार्यान्वयन आजका कम्युनिष्टहरूको आर्थिक कार्यभार हो । आजको युग जुनसुकै कोणबाट हेर्दा पनि साम्राज्यवाद र सर्वहारावर्गको टकरावको युग हो ।
युद्ध पूँजीवाद नै साम्राज्यवादको अर्थराजनीति हो । युद्धको निर्यात गरी युद्धद्वारा पूँजी केन्द्रित गर्ने तथा विश्वभर ऊर्जाको स्रोतहरूको नियन्त्रण गर्ने, विना धितो, वेरोकतोक डलर छाप्ने, बहुराष्ट्रिय कम्पनीको नाममा ठूल–ठूला उद्योग धन्दा स्थापित गरी विश्व भरिका प्राकृतिक स्रोत साधनको दोहन, विश्व भरीका मानवीय शक्तिको सस्तो श्रमको शोषण गरी अतिरिक्त पूँजीको व्यापक केन्द्रित गरिरहेको छ ।
परम्परागत कृषि प्रणालीको अन्त्य गरी व्यवसायिक र औद्योगीकरण गर्दै आफु र आफ्नो परिवार, गाउँ, प्रदेश र देश नै आत्मनिर्भर बनाउने प्रश्न कम्युनिष्टहरूको पहिलो र प्रधान प्रश्न हो । अर्गानिक कृषि व्यवसायलाई व्यवस्थित बनाउँदै भारत, चीन, लगायतका अन्य विकसित देशहरूमा अर्गानिक कृषि बजार विस्तार गर्ने, पानीको सही उपयोग गरी खानेपानी, सिंचाइ, जलविद्युतमा आत्मनिर्भर हुने, विश्वकै धेरै जनसंख्या भएको चीन र भारत हाम्रो छिमेकी भएकाले पर्यटन उद्योगलाई विस्तार गरी बहुआयमिक र उपलव्धिमूलक बनाउने, अन्य उद्योगहरूको स्थापना गर्ने, प्राकृतिक स्रोत साधनको कडाईका साथ रक्षा गर्ने तथा चीन र भारतले नेपाललाई आफ्नो बजारको रुपमा तानातान गरिरहेकाले उनीहरूको व्यापार औपनिवेशिकताको अन्त्य गर्ने प्रश्न कम्युनिष्टहरूको अर्को महत्वपूर्ण प्रश्न हो । आत्मनिर्भर व्यापार नीति अवलम्वन गर्ने तथा चीन र भारतमा भइरहेको व्यापक औद्योगीकरणको ठिक ढंगले उपयोग गर्ने कम्युनिष्टहरूको वैज्ञानिक नीति हुन आवश्यक छ ।
कम्यूनिष्ट (समाजवादी) कार्यभार
आज माक्र्सवादभित्र हुर्किएको दलाल पूँजीवाद र समाजवादको नाराभित्र हुर्किएको प्रतिक्रान्तिलाई देख्न र बुझ्न धेरै गार्हो छ । त्यसैले कम्युनिष्ट पार्टीलाई निरन्तर माक्र्सवादी बनाउने प्रश्न नै हाम्रो सन्दर्भमा आजको क्रान्ति हो ।
आफ्नै टाउकोमा आगो झोस्ने आँटद्वारा मात्र त्यो सम्भव छ । कम्युनिष्टभित्र भएको सामन्तवाद र दलाल पूँजीवाद, भ्रष्टाचार, अवसरवाद र निम्न पूँजीवाद, चरम आत्मकेन्द्रित व्यक्तिवाद र अराजकताको त्याग गर्नु आफ्नै टाउकोमा आगो लगाउनु हो ।
आफैबाट सुरु गरी आफू बदलिने, संगठन बदल्ने र समाज बदल्ने प्रक्रिया नै क्रान्ति हो । ‘समृद्ध नेपाल सुखी नेपाली’ आजको क्रान्तिको अभिभारा हो । जुन अहिलेको सरकारको पनि कार्यभार हो । व्यक्तिमा आत्मसङ्घर्ष, पार्टी भित्र दुर्ईलाइन सङ्घर्ष र समाजमा वर्ग सङघर्षलाई निरन्तर चलाई राख्नु नै सांस्कृतिक क्रान्ति हो ।
देश र जनतालाई सेवा गर्ने, विज्ञान र क्रान्तिकारी सिद्धान्तलाई विश्वास गर्ने । श्रम र सादा जीवन शैलीलाई विश्वास गर्ने । अनुशासनलाई विश्वास गर्ने । व्यक्तिगत सम्पतिभन्दा सामूहिक सम्पतिलाई विश्वास गर्ने । कार्यकर्ता र जनताको हृदयमा बस्न सक्ने । क्रान्तिकारी विचार र राजनीतिलाई व्यवहारमा कार्यान्वयन गरी आम श्रमजीवी, उत्पीडित वर्गका माझ विश्वास जगाउन सक्ने पार्टी निर्माण गर्नु आजका कम्युनिष्टहरूको कार्यभार हुनुपर्छ । अनि मात्र हामीले चाहेको जस्तो नयाँ नेपाल निर्माण हुनेछ ।
पुनश्चः लेखक नेकपा, प्रदेश ३ कमिटी, सचिवालय सदस्य हुन् । जगतजंगको यो लेख नागरिक दैनिकमा प्रकाशित ।








































