काठमाडौं ।
अभद्र व्यवहार सम्बन्धी मुद्धामा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएपछि उनलाई पक्राउ पुर्जी जारी भएको थियो । कार्यक्रमको शिलशिलामा देशबाहिर रहेकी आस्था फर्केपछि परिवार सहित प्रहरी कार्यालय पुगेकी हुन् ।
‘कानुनी प्रक्रियालाई सहयोग गर्ने भन्दै उहाँ बिहान साढे ७ बजे कार्यालयमा उपस्थित हुनुभएको हो,’ महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले भने ।
विमानस्थलमा प्रहरीले आफुलाई दुर्व्यवहार गरेको बताएकी आस्थाले अनुसन्धानमा प्रहरीलाई सघाउने बताईसकेकी छन् । उनलाई प्रहरी कार्यालयबाट नै नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए।
यसअघि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो। माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो। विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो। आस्थाले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्।