काठमाडौं : माघ १७, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समिति बैठकमा समूहगत छलफलका लागि गठन भएका १५ मध्ये ४ वटा समूहले समूहगत छलफलको निष्कर्ष बैठकमा पेस गरेका छन् । आज ४ वटा समूहले समूहगत छलफलको निष्कर्ष राखेकोमा ३ वटा समूह एमसीसीको विपक्षमा देखिएका छन् । समूह २ की टोलीनेता कमला रोकाले एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने धारणा राखे पनि अन्य तीन समूह भने विपक्षमा देखिएका छन् ।
विपक्षमा देखिने समूह नेताहरू सबै तत्कालीन नेकपा माओवादी केन्द्रका छन् । कमला रोकाको समूहले एमसीसीलाई परिमार्जनसहित संसदवाट पारित गर्नुपर्ने निष्कर्ष बैठकमा पेस गरेको छ । समूहगत छलफलको निष्कर्ष बैठकमा राख्दै उनीहरूले केन्द्रीय सदस्यले राखेका धारणालाई जस्ताको त्यस्तै पेस गरेका हुन् ।
समूह ६, ९ र १३ का टोली नेताले भने एमसीसीलाई पारित गर्न नहुने समूहको निष्कर्ष बैठकमा पेस गरे । २ नम्बर समूह बाहेकका ३ वटा टोलीले एससीसीलाई संसदवाट पारित गर्नु नहुने निष्कर्ष बैठकमा राखेको १३ नम्बर समूहका नेता लेखनाथ न्यौपानेले बताए । त्यसैगरी, भ्रष्टाचार नियन्त्रणमा पनि नेतृत्व तहले निर्मम बन्न जरूरी रहेको, पार्टीमा उपाध्यक्ष तहलाई तल्ला कमिटीसम्म लागू गर्नुपर्ने, सचिवालयमा महिलाको प्रतिनिधित्व हुनुपर्नेलगायतका सुझाव दिएका छन् । आज समूह २ की टोलीनेता कमला रोका, ६ का नेता दीनानाथ शर्मा, ९ की भगवती चौधरी र १३ का टोली नेता लेखनाथ न्यौपानेले समूहगत छलफलको निष्कर्ष बैठकमा पेस गरेका छन् । बैठक भोलि बिहान पुन बस्नेछ ।