काठमाडौं ।
काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ परेका छन् । पौडेलले नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकममध्येबाट एक लाख घुस मागेको अख्तियारले जनाएको छ ।
प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेलको निर्देशनमा सवारी चालक संचित दुलालले एक लाख रुपैँया घुस लिएर वडा नं. १२ स्थित वलम्बु च्याउ सहाकरी जाँदै गर्दा दुवै जनालाई हिजो पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदिपकुमार कोईरालाले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भुमा कार्यरत एक अधिकृतलाई पनि पक्रेको छ । १३ हजार घुससहित अधिकृत शिवलाल पौडेललाई नियन्त्रणमा लिइएको हो । सवारी कर र प्रदूषणबापतको रकम तिर्न पौडेलले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ । अख्तियारले घुस दिने दीपक खतिवडाले समेत नियन्त्रणमा लिएको छ ।