काठमाडौं माघ २२, हुम्ला जिल्लामा खाना पकाउने एउटा ग्यास सिलिन्डर १२ हजार ५ सय रुपैयाँमा किनबेच हुने गरेको छ । लामो समय हिमपात भएपछि दाउराको अभाव भएका कारण जिल्ला सदरमुकाम सिमकोटका बासिन्दाले चर्को मूल्य तिरेर ग्यास उपभोग गर्न बाध्य भएका छन् ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मुगुको गमगडीदेखि सदरमुकाम सिमकोटमा खच्चरबाट ग्यास ढुवानी गर्नु पर्ने बाध्यता छ । लामो समय हिमपात भएपछि दाउरा पाइन छाडेपछि एउटा सिलिन्डरको साढे १२ हजारमा किनेर भएपनि होटेल चलाउनु परेको व्यवसायीहरुले बताएका छन् । सिमकोट बजारमा बस्ने सरकारी कर्मचारी, होटेल र केही स्थानीयका घरमा ग्यास चुलो प्रयोग हुन थालेपछि ग्यासको माग बढ्न थालेको छ । ग्यास भर्न खच्चरबाट मुगु हुँदै नेपालगञ्ज जाने गरेको स्थानीय व्यापारी बताउँछन् । नेपालगञ्ज जान चार दिन र आउन चार दिन गरी एउटा ग्यास सिलिन्डर भर्न आठ दिन लाग्छ ।









































