काठमाडौं ।
दुई बर्षअघि दुई कम्युनिष्ट एकतापछि शक्तिशाली रुपमा स्पष्ट बहुमत सहित बनेको केपि शर्मा ओली नेतृत्वको सरकारले दुई बर्ष पार गरेको छ । ५ बर्षका लागि बनेको स्थिर सरकारको दुईबर्षको कार्यसमिक्षा सुरु भएको छ । देशभरबाट प्रकाशित हुने पत्रपत्रिका, अनलाईन, रेडियो, टेलिभिजन र जनस्तरमा सरकारको समिक्षा कति सफल कति असफल भन्ने कोणबाट भैरहेको छ । बिशेषतः सरकारसम्बद्ध सरकार समर्थकले सरकारको कामको प्रचारपुर्ण सफल भनेर समिक्षा गरेका छन् । विपक्षीले कमजोर र असफलका रुपमा समिक्षा गरेका छन् भने स्वतन्त्र रुपमा समिक्षाहरुले उपलब्धी र सच्चाउनुपर्ने कुरासहित मुल्यांकन गरेका छन् ।
राष्ट्रिय पत्रिका कान्तिपुर दैनिकमा पत्रकार विनु सुवेदीले ‘ओर्लदो ओज’ शिर्षकमा समाचार छापेकी छन् । पार्टी सञ्चालनको कार्यदिशा र सरकार सञ्चालनमा सरकारको नेतृत्व गरिरहेका नेकपाका अध्यक्ष केपि शर्मा ओलीको काम, निर्णय र अप्ठ्याराहरु केलाईएको छ । समग्रमा ओलीको सुरुवाती राजनीतिक शक्ति क्षीण बन्दै गएको टिप्पणी गरिएको छ । संसदीय मोर्चामा ओलीको शक्ति कमजोर बनेको कुरा प्रष्टाइएको छ ।
कान्तिपुरमा नै बबिता शर्माले ओलीका दुई बर्षः आफ्नै कार्यशैलीले अप्ठ्यारो शिर्षकमा समाचार लेखेकी छन् । समाचारमा पाँच वर्षका लागि गठित सरकारको भरोसाको दियो अझै ननिभेको तर उज्यालो कम हुँदै गएको टिप्पणी गरिएको छ । सरकारी कामको क्रेज घट्नुमा सरकारको कार्यशैली र प्रधानमन्त्रीको कार्यशैलीगत समस्या लाई कारणका रुपमा औल्याईएको छ । प्रधानमन्त्री ओलीको व्यवहार र बोलीमा तालमेल नदेखीएको कुरा समाचार पुष्टि गर्न खोजीएको छ ।
कान्तिपुरमा नै बिमल खतिवडा लेख्छन्, ओलीका दुई बर्षः पुननिर्माण गाउँमा प्रगती, शहरमा सुस्त । समाचारमा सरकारले प्रतिबद्धताअनुसार काम गर्न नसकेको कुरा औल्याईएको छ ।
यसैगरी अन्नपुर्ण पोष्टले नेपाल सरकारका दुई बर्षः केही राम्रा केही निराशा शिर्षकमा समाचार छापेको छ । सरकारसम्बद्ध दल निर्वाचनमा जाँदा राष्ट्रवादी छवि र जनतामा आशाभरोषा दिलाएको भए पनि त्यो आश अझै वास्तविकतामा परिणत हुन नसकेको टिप्पणी गरिएको छ । ‘सरकारले निकै राम्रा काम गरेको भनिरहेको छ । तर, सरकारले गरेका राम्रा कामको सूचीकृत हुन सकेको छैन । सरकारले भन्नु र आम जनताले त्यसको अनुभुत गर्न पाउनु फरक कुरा हुन ।’ समाचारमा उल्लेख छ । सरकारले भौतीक निमार्णतर्फ लिएको गतिलाई समाचारमा सकारात्मक टिप्पणी गरिएको छ ।
नयाँ पत्रिका दैनिकले ‘सरकारको दुई वर्षको समीक्षाः आक्रामक योजना, फितलो कार्यान्वयन’ शिर्षकमा समाचार लेखेको छ । सरकारले पानी जहाज, रेलमार्गजस्ता ठुला सपना बाँडेर न्युनतम आधारकाम पनि सुरु गर्न नसकेको टिप्पणी समाचारमा गरिएको छ । श्रमसुरक्षाका लागि सुरु भएको सामाजिक सुरक्षा कोषको कार्यक्रमको फितलोपना, न्युनतम रोजगारीको कुरा लगायतले सरकारले योजना ल्याउदाँ आक्रामक रुपमा ल्याईएपनि कार्यान्वयन हुन नसकेका कामहरुलाई केलाईएको छ । मन्त्रीपरिषद् हेरफेर, सुबिधामा बढोत्तरी, मन्त्रीका काम आलोचीत हुनु, विवादित प्रधानमन्त्री कृषि कार्यक्रम, रोजगार कार्यक्रम लगायतले सरकार कामभन्दा अन्यत्र भुलेको देखिएको छ । प्रधानमन्त्री ओली मातहत लगिएका विभागहरुको सक्रियतालाई भने सकारात्मक रुपमा टिप्पणी गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग, अर्थ मन्त्रालयअन्तर्गतका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्रीमातहत राखिएको थियो । अपेक्षाकृत नभए पनि तुलनात्मक रूपमा तीनै विभागको सक्रियता बढेको उल्लेख छ ।
राजधानी दैनिकले ‘ओली सरकारको दुई वर्षः उत्साह धेरै, उपलब्धि सुस्त, विकासका आधार निर्माण’ शिर्षकमा समाचार छापेको छ । सरकारको दुई बर्ष उत्साहपुर्ण देखिएपनि अपेक्षाकृत उपलब्धी हुन नसकेको कुरा समाचारमा उल्लेख छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले आगामी तीन वर्ष्भित्र मुलुक समृद्ध बनाउने आशा भने धेरैको जीवित नै छ ।’ समाचारमा भनिएको छ । समाचारमा सरकारले दावि गरेका सफलताहरुलाई बुदाँगत रुपमा राखिएको छ ।
–यातायात सिन्डिकेट अन्त्य
–तस्करमाथि कारबाही र नियन्त्रण
–विकास निर्माणमा ढिलासुस्ती हटाउने काम
–सार्वजनिक खर्चमा मितव्ययिता
–राजमार्ग र सडक सुरक्षाको प्रभावकारी प्रबन्ध
–अध्यागमनमा नयाँ प्रणाली
–पेट्रोलियम चुहावट रोक्न लकिङ प्रणाली
–सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता
–औचित्यहीन भ्रमणमा नियन्त्रण
–आवश्यकता र प्राथमिकताका आधारमा विदेश सम्बन्ध
–सडक रेल पूर्वाधार निर्माणमा तीव्र गतिमा काम
–शिक्षा क्षेत्रमा दूरगामी महत्वका काम
–पुनर्निर्माणमा नतिजामुखी काम
–सामाजिक सुरक्षामा नयाँ थालनी
–फलाम खानी अन्वेषणमा तीव्रता
–अन्तर्रा्ष्ट्रिय र प्रदेशस्तरीय रंगशाला निर्माण तयारी
यद्यपी बुँदाहरुमा भनिएझैं यातायातमा सिन्डिकेट अन्त्य नभएको, तस्करी नियन्त्रण भ्रष्टाचार कम हुन नसकेको विभिन्न योजना योजनामै सिमित भएका खबर आजका पत्रपत्रिकाले छापेका छन् ।