काठमाडौं ।
पुर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत नुवाकोटको तारकेश्वर गाउँपालिकामा भएको पाईप वितरणमा फोटो खिचाएपछि चौतर्फी आलोचना भएको छ । ५ कार्यकाल गरी करिब १३ बर्ष अर्थमन्त्री भएका डा. महतले तारकेश्वर गाउँपालिका वडा नं ५ गोस्र्याङमा तीन क्वाइल पाइपसँगै तस्विर खिचाएका हुन् ।

गत चुनावमा हारभएपछि नेपालको अर्थव्यवस्थाका बिषयमा पुस्तक निकालेर चर्चामा आएका महत आसन्न चुनावको तयारीका लागि गृहजिल्लाका सार्वजनिक काममा फोटो खिचाउन पुगेको भन्दै आलोचना भएको छ ।
पटक पटक मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याउने गरेको आरोप लागेका नेता महतले गृहजिल्लामा पुगेर पाइप वितरणमा फोटो खिचाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
तीन वटा निर्वाचन क्षेत्र भएको नुवाकोटका अरु दुई निर्वाचन क्षेत्रका मतदातालाई उपेक्षा गर्ने महतले आसन्न चुनावका लागि पाईपसँग फोटो खिचाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको हो ।









































