भैरहवा ।
उपचारका लागि पुगेका बिरामीको मृत्यु भएपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा तनाव भएको छ । मस्तिस्कघातको उपचार भइरहेकी बिरामी नवलपरासी बर्दघाटकी यमकुमारी पुनको आज मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेका छन्। पुनको आज मृत्यु भएको थियो।
मृतकका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै न्युरो सर्जरीको कक्षमै प्रवेश गरी उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका अस्पताल प्रशासनले जनाएको छ। उपचार कक्षमै चिकित्सकमाथि भौतिक आक्रमण गरेको भन्दै आज दिनभरि युसिएमएसमा ओपिडी सेवा ठप्प भयो।
चिकित्सकहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म आकस्मिक सेवाबाहेक अन्य सेवामा संलग्न नहुने बताएका छन्। बिरामीको आज बिहानै मृत्यु भएपछि आफन्तले एक्कासि उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका अस्पतालका जनसम्पर्क अधिकारी सुशील गुरुङले बताए। मृतकका आफन्तको कुटाइबाट डा अर्चन घिमिरे घाइते भएका छन् ।