काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश नं. २ का अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद प्रभु साहले इटा उद्योग सञ्चालकमाथि भएको आक्रमणका दोषीहरुलाई कारबाही गर्न माग गरेका छन् ।
नेता साहले रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६, अमरपट्टीस्थित ‘दाइभाइ इँटा उद्योग’का सञ्चालक एवं नेकपाका रौतहट जिल्ला सदस्य रामबाबु चौधरीका भाइ मुकेश कुमार चौधरीमाथि सांघातिक हमला भएको जानकारी दिँदै सो घटनामा संलग्नलाई कारबाही माग गरेका छन् ।
‘हाम्रो पार्टी नेकपाका रौतहट जिल्ला सदस्य एवम् गरुडा नगर सचिव राबाबु चौधरीज्यू सञ्चालक रहेको इटा उद्योगमा यही चैत २ गते विहान सांघातिक हमला भयो,’ साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ६, अमरपट्टीमा रहेको ‘दाजुभाई इटा उद्योग’मा दर्जनौं संख्यामा रहेको अपराधिक समूहले विहान ९ बजे योजनावछ रामबाबु चौधरीज्यूको भाई मुकेश कुमार चौधरीमाथि सांघातिक आक्रमण गरी गम्भी घाइते बनाएको छ ।’
इटा उद्योगमा कार्यरत कामदारहरु प्रतिकारमा उत्रिएपछि आक्रमणकारीहरु भागेको पनि साहले जानकारी दिएका छन् । ‘त्यहाँ कार्यरत कामदारहरु प्रतिकारमा उत्रेपछि अपराधीहरु भागेका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा दर्जनौं कामदारहरु घाइते भएका छन् भने मुकेश चौधरी गम्भीर घाइते भई काठमाडौंमा उपचार गराईरहेका छन् ।’
साहले पार्टीका नेतालाई ज्यान मार्ने उद्देश्यबाट आक्रमण गरिएको भन्दै त्यस्ता ‘अपराधिक कार्यको घोर भत्र्सना’ गरेका छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न गृह प्रशासनसँग माग पनि गरेका छन् । ‘घटनाको निष्पक्ष छानबिन गरी अपराधीहरुलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न गृह प्रशासनसँग अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।