काभ्रे, १२ जेठ ।
काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका घर पुनर्निर्माण गर्न दोस्रो किस्ताको रकम वितरण गर्न थालिएको छ ।
स्थानीय तहको निर्वाचनले झण्डै दुई साता प्रभावित भएको पुनर्निर्माणको काम जिल्लाको दुर्गम क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर दोस्रो किस्ताबापतको रकम वितरण भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका प्रमुख धु्रव गैँडाले जानकारी दिनुभयो । भूकम्पपीडितले पुनर्निर्माणका लागि दोस्रो किस्ताबापत एक लाख ५० हजार रुपैयाँ पाउँछन् । जिल्लाका विभिन्न क्षेत्रमा खटिएका इन्जिनियरले प्रत्यक्ष अवलोकन गरी मापदण्ड पूरा भएको छ वा छैन हेरेर जिल्ला समन्वय समितिलाई जानकारी दिने र सो समितिको सिफारिसको आधारमा पीडितले दोस्रो किस्ताको रकम पाउने उहाँले बताउनुभयो । कार्यालय प्रमुख गैँडाले जिल्लाको कोशीपारी, महाभारत शृङ्खला डाँडापारीका विभिन्न गाउँपालिकामा इन्जिनियर परिचालन गरेर पुनःनिर्माणको लागि दोस्रो किस्ता वितरण भएको बताउनुभयो । अहिलेसम्म काभ्रेपलाञ्चोकमा दुई हजार ३७ भूकम्प पीडितले पुनर्निर्माणका लागि दोस्रो किस्ताबापतको रकम पाएका छन् भने अन्य २४४ जनाले विभिन्न गैरसरकारी संस्थामार्फत पनि दोस्रो किस्ताबापतको रकम प्राप्त गरेका छन् । जिल्लामा लाभग्राहीको सङख्या ६९ हजार ४३१ छ भने अनुदान सम्झौता भएकाको संख्या ६३ हजार ५ सय ११ छ । यीमध्ये ६१ हजार १ सय ३७ जनाले पुनर्निर्मााण्का लागि पहिलो किस्ताबापत रु ५० हजार प्राप्त गरेका छन् । पुनर्निर्माण भएका घर अवलोकनका लागि जिल्लामा १ सय ३७ इन्जिनियर परिचालन भएका छन् । – रासस