जनयुद्ध सुरू भएको १४औं दिनमा गोरखाका बालक दिलबहादुर रम्तेलले १४ फागुन, २०५२ मा पहिलो सहादत प्राप्त गरेका थिए । त्यसपछिका हरेक वर्ष नेपालका क्रान्तिकारी, परिवर्तनकामी र अग्रगामी शक्तिहरूले सोही १४ देखि २१ फागुनसम्म साताव्यापी सहिद सप्ताह मनाउँदै आएका छन् ।
लखन थापा, भीमदत्त पन्त, राणाविरोधी आन्दोलनका सहिदहरू, पञ्चायतविरोधी आन्दोलनका सहिदहरू, दसवर्षे महान् नेपाली जनयुद्धका सहिदहरू, राजतन्त्रविरोधी आन्दोलनका सहिदहरू तथा क्रान्ति, अग्रमन र परिवर्तनका निम्ति भएका हरेक आन्दोनका सहिदहरू एवं लिंगीय–जातीय–क्षेत्रीय उत्पीडनविरोधी आन्दोलनका सहिदहरूलगायत नेपाली इतिहासका तमाम सहिदहरूको स्मृति, सम्मान र उहाँहरूका सपना पूरा गर्ने प्रतिबद्धताका निम्ति सहिद सप्ताह मनाइँदै आएको छ । यस क्रममा जनयुद्ध तथा जनआन्दोलनहरूका बेपत्ता योद्धाहरू तथा घाइते–अपांग योद्धाहरूको स्मरण, सम्मान र योगदानलाई स्थापित गर्ने काम समेत हुँदै आएको छ ।
यही सिलसिलामा शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा वृहत् अन्तर्किया कार्यक्रमको आयोजना गरिएको छ । मार्क्सवादी एकता अभियान नेपालले आयोजना गरेको यस कार्यक्रममा शीर्षस्थ माओवादी नेता मोहन वैद्य ‘किरण’, पूर्वमाओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा, कांग्रेस नेता चन्द्र भण्डारी, नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता एवं पूर्वसभासद एकराज भण्डारी, पूर्वसभासद परशुराम रम्तेल, सहिद कृष्ण सेन ‘इच्छुक’ की जीवनसंगिनी तक्मा केसी, जनयुद्धका गम्भीर घाइते नेता गंगाबहादुर लामा, सांस्कृतिक योद्धा एवं जनयुद्धका गम्भीर घाइते नेता माइला लामाकी जीवनसंगिनी मनु लामालगायतले सम्बोधन गरेका छन् ।