काठमाडौं : फागुन ४, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यष केपी शर्मा ओलीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विषयमा अध्ययन गर्न गठित कार्यदल फाल्तु भन्ने अभिव्यक्ति दिएपछि भीम रावलले ओलीलाई काउण्टर दिएका छन् । सत्तारुढ नेकपाको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकले गम्भीर विषयमा छलफल गर्ने अधिकार समितिलाई दिएको उल्लेख गर्दै नेता रावलले केन्द्रीय समिटीको कार्यादेश विपरीत कुनै पनि व्यक्तिले अन्यथा कुरा ग¥यो भने त्यो औचित्यहीन हुने भन्दै प्रधानमन्त्री ओलीको भनाईको काउण्टर गरेका ह्न् ।
केन्द्रीय समितिले दिएको अधिकारअनुसार आफूहरुले एमसिसी सम्झौता र योसँग जोडिएका विषयमा छलफल गरिरहेको भन्दै एमसिसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको पनि दाबी गरे । रावलले भने, नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णय बमोजिम गम्भीर विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छ । कार्यादेशलाई कुनै पनि व्यक्तिले अन्य अर्थ लगाएर कुरा ग¥यो भने त्यो औचित्यहीन हुन्छ ।’
कार्यदलले समेत छलफलको समयमा सार्वजनिक अभिवयक्ति नदिने विषयमा आचारसंहिता बनाएको उनले बताए । कार्यदलले सुझाव र निष्कर्षसहित प्रतिवेदन बुझाउने भएकाले केन्द्रीय समितिको कार्यादेश विपरीत अभिव्यक्ति दिनु भनेको केन्द्रीय कार्यसमितिको अपमान गरेको ठहरिने उनको तर्क छ ।
रावलले संसदमा प्रस्तुत भएकाबाहेक अन्य एक दर्जनभन्दा बढी सम्झौता पनि कार्यदलले फेला पारेको र अझै अरु पनि हुन सक्ने बताएका छन् । संसदमा प्रस्तुत भएकाबाहेक अन्य सम्झौताहरुको विषयमा आचारसंहिताका कारण बोल्न नमिल्ने उनले बताए । कार्यदलको सयम १० दिनका लागि थप गरिएको छ ।